भीषण बाढीको कारण ३६ जनाको मृत्यु

27

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा २२८ जना घरबारविहीन भएका तथा ३२८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् ।साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्काल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्नुहुने भएको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गतवर्षको मूसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा २३० जनाभन्दा बढीको मृत्यु भएको थियो । रासस/एएफपी