काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो।
सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ।
कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्नेगरी पाएको छ। उक्त खण्डको २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो। दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहेको छ। उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५÷२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने चार नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिलसमेत गरेको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा बिस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ।