४७० विदेशी अध्ययन भिसामा आए नेपाल

67

काठमाडौँ । नेपालमा ६ महिनाको अवधिमा अध्ययन भिसामा ४७० जना विदेशी नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार पुस मसान्तसम्म कुल ४७० जना विदेशी विद्यार्थी अध्ययनको सिलसिलामा नेपाल आएको पाइएको छ ।

नेपालमा पर्यटन भिसाबाहेक नाता भिसा, वैवाहिक भिसा, कामदार भिसा, अध्ययन भिसा, आवासीय भिसा, प्रेस भिसा र ननटुरिष्ट भिसा जारी हुने गरेको छ । यसबाहेक व्यावसायिक भिसा समेत जारी हुन्छ । पछिल्लो तीन महिनाको अवधिमा मात्र अध्ययनका लागि २०९ जनाले भिसा लिएका छन् । व्यावसायिक भिसामा ८८७ जना नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नाता भिसा लिनेको संख्या १ हजार ३७६ रहेको छ । वैवाहिक भिसा लिने २८५ जना छन् । यस अवधिमा कामदार भिसा ५५२ जनाले लिएका छन् । आवासीय भिसा ४ जनाले लिएका छन् । प्रेस भिसामा २ जना आएको देखिएको छ । पछिल्लो तीन महिनामा अध्यागमन विभागबाट मात्र ७ हजार ५५२ वटा पर्यटक भिसा जारी भएको छ । यस अवधिमा गैर आवासीय भिसा ६१० वटा जारी भएको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो तीन महिनामा अध्यागमन विभाग एजेन्सीबाट ३ हजार ९५१ वटा पदयात्रा अनुमति पत्र जारी भएको छ ।