तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षकहरू…..

31

सर्लाही । लामो समयदेखि तलब नपाएपछि कविलासी नगरपालिकाअन्तर्गत पर्ने विद्यालयका शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षकहरूको आन्दोलनका कारण नगरपालिकाका सबै विद्यालयमा आज पढाइ अवरुद्ध भएको छ । तलब नपाएसम्म आजदेखि अनिश्चित कालसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको शिक्षक महासङ्घका नगर सह अध्यक्ष राजेशकुमार यादवले बताए । मङ्गलवार पनि नगरभरिका शिक्षक विद्यालय बन्द गरी नगरपालिकाको कार्यालयअगाडि धर्नामा बसेका थिए । साथै तलब पाउनुपर्ने माग राख्दै नगरपालिकामा ज्ञापन पत्रसमेत बुझाइएको थियो ।

नगरपालिकामा ३२ सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये सात मावि र बाँकी आधारभूत विद्यालय छन् । ती विद्यालयमा हाल दुई सय ३० शिक्षक, साता विद्यालय कर्मचारी र ३० कार्यालय सहयोगी कार्यरत छन् । यता, नगर उपप्रमुख पुनम कर्णले शिक्षकहरूको समस्या समाधान चाँडै गरिने बताइन् । प्रमुख प्रशासकीय अधिकृत र लेखापालका कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ ।

कहिले प्रमुख प्रशासकीय अधिकृत र कहिले लेखापाल नगरपालिको कार्यालयमा नआउने कारणले शिक्षकले समयमै तलब पाउन नसकेको उनले जानकारी दिइन् । करिब १५/२० दिनदेखि प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटा कार्यालय नआएको उपप्रमुख कर्णको भनाइ छ ।