काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । ग्वार्को चोकमा गत शनिवारबाट फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो ।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चार पाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिए पनि सडक जाम कम हुन सकेको छैन । चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो ।