काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।
द्रुत गतिमा निर्माण सम्पन्न गर्न सडक बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए । वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सुचारु गरिएको उनले बताए । उनले सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।