सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको तयारी

51

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । योसँगै मन्त्रिमण्डल विस्तारको तयारी समेत गरिएको छ । जसको लागि सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ । काँग्रेस संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री रावललाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीको समर्थन छ ।

मन्त्रिमण्डल विस्तारका लागि काँग्रेस संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसबाट मन्त्रिमण्डलको आकार निर्क्योल हुने काँग्रेसका एक जना प्रदेशसभा सदस्यले बताए । तथापि पहिलो चरणमा ३ देखि ५ सदस्यीय मन्त्रिमण्डल विस्तार हुनसक्ने बताइएको छ । अछामबाट निर्वाचित प्रदेशसभा सदस्य मेघराज खड्काको पनि मन्त्री हुने सम्भावना बलियो छ । उनी काँग्रेस सुदूरपश्चिमका महामन्त्री समेत हुन् । त्यस्तै, काँग्रेसभित्र प्रकाश देउवाको चर्चा पनि उत्तिकै छ ।

त्यस्तै, एकीकृत समाजवादीबाट पनि मन्त्री थपिने भएका छन् । समाजवादीभित्र संसदीय दलका नेता दीर्घ सोडारी, प्रकाश रावल र बाजुराबाट निर्वाचित नरेशकुमार शाहीमध्ये एकलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गर्न सक्ने जनाइएको छ । तर सोडारी र रावल मन्त्री भइसकेकाले शाहीको सम्भावना बलियो रहेको बताइएको छ । त्यस्तै, डडेलधुराबाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य जोशीलाई पनि मन्त्री मण्डलमा समावेश गराउने छलफल चलिरहेको छ ।