मुख्यमन्त्री रावलको पद जोगाउन एमालेले राख्यो प्रस्ताव

70

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको पद जोगाउन एमाले नेतृत्व सक्रिय भएको छ। बिहीबार मुख्यमन्त्री रावलले विश्वासको मत नपाए उनी नेतृत्वको सरकार ढल्ने भएपछि एमाले नेतृत्व सक्रिय भएको हो। रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। जुन बिहीबार अन्तिम दिन हो।

मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि रावल नेतृत्वको सरकार सङ्कटमा परेको छ। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, र राप्रपाका १ सांसद छन्। विपक्षमा रहेको नेपाली काँग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।

बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग दुई चरणमा छलफल गरे पनि सहमति जुटेन। नाउपा आफ्ना संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने बटम लाइनमा छ। रेशम रिहा नभएसम्म विश्वासको मत नदिने उसको अडान छ। ओली मात्र होइन एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, उद्योग मन्त्री एवं सह इन्चार्ज दामोदर भण्डारी पनि सक्रिय भएका छन्। भण्डारी बुधबार राति धनगढी पुगेका छन्। भट्ट र भण्डारीले नेकपा एकीकृत समाजवादी लगायतका दलसँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन्।