भक्तपुरमा स्वस्थ जीवन प्रवर्धन कार्यक्रम सम्पन्न

55

भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा मिति २०७९ माघ २४ गते चाँगुनारायण नगरपालिकाको सभाहल तःपा डम्फोमा एक दिने स्वस्थ जीवन प्रवर्धन कार्यक्रम सम्पन्न भयो । कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर संचालन र ब्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद अधिकारीको अध्यक्षता र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको बरिष्ठ बैद्य शान्ता केसीले कार्यालयको परिचय उपलब्ध सेवा र कार्यलयका कार्यक्रम र गतिबिधिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यालय प्रमुख डा नरेन्द्र प्रसाद गिरीले नसर्ने रोग र स्वस्थकर जीवनशैलीका बारेमा सहभागीहरुलाई अभिमुखीकरण गराउनुभएको थियो । अभिमुखीकरण पश्चात सहभागीहरुमा प्रमुख नसर्ने रोग भए नभएको स्क्रिनिङ गरिएको थियो । सो क्रममा सबै सहभागीको रक्तचाप, ब्लड सुगर, बि। एम। आई।, पिसाबमा एल्बुमिनका लागि डिप स्टिक परीक्षण र दीर्घ श्वास प्रश्वास सम्बन्धि स्क्रिनिङ गरिएको थियो ।

नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दै गईरहेकोले यसबाट सबै जना सचेत रहनुपर्ने भएकाले र स्वस्थकर जीवनशैली अपनाएर नसर्ने रोगको प्रकोप न्यूनिकरण गर्न सकिने भएको हुँदा त्यसै बारे अभिमुखीकरणका लागि यो कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख डा। नरेन्द्र प्रसाद गिरीले बताउनुभयो ।