भक्तपुर । भक्तपुरमा सामान बोक्ने गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान सूर्यविनायक नगरपालिका–९ पलासेस्थित बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फबाट जाँदै गरेको प्रदेश २–००१ च ०४११ नम्बरको सामान बोक्ने गाडीले सोही दिशातर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको बसलाई ओभरटेक गरी जने क्रममा मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको थियो ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ का १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित केसीले जानकारी दिएका छन् । गाडीको ठक्करबाट सख्त घाइते न्यौपानेलाई उपचारको लागि मध्यपुर अस्पताल पुर्याएको र अस्पतालका चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।प्रहरीले गाडी चालक सिरहा गोलबजार नगरपालिका–६ का २५ वर्षीय देवकुमार शाह र बस चालक काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ का ३० वर्षीय विकाश तामाङलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान थालेको जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको छ । यस बारेमा थप अनुसन्धान थालेको प्रहरी जानकारी दिएको छ ।














