भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुग्यो

156

काठमाडौँ । सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुगेको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार भूकम्पका कारण टर्कीमा ३३८१ र सिरियामा १४४४ जनाको मृत्यु भएको छ । अरु कैयौँ घाइते भएका छन् भने धेरै जना बेपत्ता भएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराईमा केन्द्रविन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा धेरैको मृत्यु भएको छ । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रससम्म पनि महशुस गरिएको थियो ।

यता भूकम्प पीडितका लागि संयुक्त राष्ट्रसङ्घले विशेष उद्धार तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विभिन्न निकायहरुले उत्तरी सिरिया र दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परेकालाइै उद्धार र राहतको काम सुरु गरेका हुन् । सो भूकम्पमा परेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले विशेष टोली पठाएको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुराको जानकारी दिएका हुन् ।