काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनीष झाले निर्वाचनपछि पार्टीले गरेका कामको निर्मम समीक्षाका साथ नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताएका छन् । उनले निर्वाचनपछिको छोटो अवधिमा दलका सबै पदाधिकारीले एक छिन विश्राम नगरी निकै तीव्र गतिमा कार्यसम्पादन गरेको दलले निष्कर्ष निकालेको बताए ।
नेता झाले भने, “पार्टी जहाँ छ, हामी जे अवस्थामा छौँ, त्योप्रति सबैको स्वीकारोक्ति छ, सबैले स्वामित्व लिएका छौँ । हामी सबै ठिक ठाउँमै छौँ ।” पार्टी अध्यक्ष रवि लामिछानेले समसामयिक विषयमा दिएको अभिव्यक्तिप्रति सबै सदस्यको ऐक्यबद्धता र पूर्ण समर्थन रहेको उनको भनाइ छ । सांसद झाले राजनीति, निजी क्षेत्र, नागरिक समाजले जस्तै मिडियाबाट पनि आफ्नो जिम्मेवारी र भूमिकाको आत्मसमीक्षा जरुरी भएको दलको धारणा रहेको बताए ।
मिडियाले राष्ट्रियता, सार्वभौम, सुरक्षा, संविधान पालना गराउनेजस्ता विषयमा अन्तरनिहित स्वार्थ स्वाभाविक भए पनि कुनै व्यक्ति र दल विशेषलाई निसाना बनाउन खोज्नु हुन्न भन्ने रास्वपाको मत रहेको उनले उल्लेख गरे । युवा पुस्ताले राजनीतिक दललाई कसरी सञ्चालन गर्न सक्छन् भनी उदाहरण प्रस्तुत गर्ने अठोट व्यक्त गर्दै उनले भने, “पछिल्लो पत्रकार सम्मेलन अर्को कार्यदिशामा हिँड्नका लागि टर्निङ प्वाइन्ट हो ।”