बागलुङ-पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

103

बलेवा । मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ–पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।

मध्य पहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ ।

पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरि चोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ ।