काठमाडौँ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टी आई)ले जनाएको छ । सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क आज सार्वजनिक गर्दै टीआईले नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।
सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल, १०० मध्ये ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औँ स्थानमा छ । सन् २०२१ मा ३३ अङ्क पाउँदै नेपाल ११७ औँ स्थानमा थियो ।
सूचकाङ्कमा ९० अङ्क प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा र १२ अङ्क प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र शून्य अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अङ्क प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ ।