काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठनको २३ औँ राष्ट्रिय महाधिवेशन फागुन २, ३ र ४ गते काठमाडौंमा हुदैंछ । त्यसकालागि विभिन्न समिति बनाएर काम हुदैंछ । महाधिवेशनको प्रचार विभागका उपसंयोजक रहनु भएका जयराम बास्तोलाले उस पटक प्रचारकोलागि नयाँ र आधुनिक प्रणालीलाई अगाडी बढाउनु भयो । नयाँ नेपाल न्यूजसंग कुरा गर्दै बास्तोलाले भन्नु भयो “सूचना प्रविधिलाई भरपुर प्रयोग गर्दै डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने तयारीका साथ हामी लागिरहेका छौं” ।
“यो विद्यार्थीहरुको संगठन भएकाले धेरैजसो विभिन्न सामाजिक संजालमा सक्रिय हुनुहुन्छ त्यसैले अनेरास्ववियुलेले सोही अनुसारको प्रचारको कार्य गर्ने तयारी रहेको छ,” बास्तोलाले भन्नु भयो ।प्रचारप्रसार उपसमितिको बैठकले सम्पूर्ण विश्वविद्यालयका केन्द्रीय क्याम्पस तथा सम्पूर्ण क्याम्पसहरूको गेटमा आकर्षक प्रचार ब्यानरहरू राख्ने, सदरमुकाम तथा महत्वपूर्ण केन्द्रहरूमा आकर्षक प्रचार ब्यानरहरू राख्ने र माघ २० गते बेलुकासम्म प्रत्येक प्रदेशको प्रादेशिक राजधानी वा प्रदेशका मुख्य सहरहरूमा आकर्षक ब्यानर सहित प्रचार गेट निर्माण गर्ने निर्णय गरेको छ बास्तोलाले जानकारी दिनुभयो ।
अनेरास्ववियुले आफ्ना आधिकारिक फेसबुक पेज तथा समुह मार्फत प्रचार कार्यलाई तीव्र बनाउने र प्रचार प्रसार गर्ने भएको छ । उपसमितिको सूचनाहरू तथा प्रचार सामाग्रीहरू सम्प्रेषण गर्ने, सामाजिक सञ्जालका अन्य माध्यमहरू टुइटर, इन्स्टाग्राम, टिकटक लगायतका सम्पूर्ण प्रचारप्रसार कार्य अगाडी बढाउने छ । अनेरास्ववियुले महाधिवेशनलाई रचनात्मक बनाउन माघ २९ गते बिहान अखिल वाकाथुन गर्ने निर्णय समेत गरेको छ । केन्द्रीय पदाधिकारीको पहिलो पूर्ण बैठकले महाधिवेशनलाई प्रभावकारी बनाउन र प्रचार प्रचारलाई गति दिन विभिन्न ९ वटा उपसमितिलाई पूर्णतासमेत दिएको छ ।














