ओलीले चौतर्फी घेराबन्दी गरे : प्रधानमन्त्री दाहाल

67

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन् ।

उनले स्थायी कमिटीको जारी बैठकमा दुई दिनसम्म यही विषय दोहोर्‍याएको एक पदाधिकारीले जानकारी दिए । बिहीबार बसेको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए

संसद् विघटनको विषय संसद् प्रवेश गराएर ओलीले सहमति पालना नगरेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले माओवादीले एमालेको तुलनामा मन्त्रालय पनि राम्रा नपाएको र मर्यादाक्रममा पनि अप्ठेरो पारिएको टिप्पणी गरेका थिए ।

‘संसद् विघटनको विषय संसद्मै उठाउँदा निर्वाचित प्रधानमन्त्रीको लागि अलि असहज भएको छ,’ दाहालको भनाई उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन । हामीले त्यो विषय नबोल्ने भनेका थियौँ । संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन गर्‍यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन ।’

उनले एमाले र माओवादीबीच प्रधानमन्त्रीले शपथ लिएका दिनमा एक एक जना मन्त्री पठाउने भनिएको भए पनि एमालेले चार जना पठाएको भन्दै अर्को असन्तुष्टि जनाएका थिए ।