काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आइतबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ७६ करोड रुपैयाँको १०% अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर आज माघ १५ गतेदेखि बिक्री खुला गरेको हो।
जसमध्ये अति प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीयका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ। साथै, प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाँउपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन्।
यता, सर्वसाधारणमा निष्कासन हुने १५ लाख २० हजार कित्ता सेयरमध्ये १०% अर्थात १ लाख ५२ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ। यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने माघ २९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।