टेकु अस्पताललाई १ सयबाट ३ सय शय्याको बनाइँदै

67

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्याको बनाइने भएको छ । हाल एक सय शय्याको टेकु अस्पताललाई तीन सय शय्या बनाइने कार्यक्रम दुई वर्ष अघि सारिएको थियो । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएकामा अबको तीन महिनापछि निर्माण कार्य सुरु हुने अस्पतालका निर्देशक डा. मनीषा रावलले बताइन् ।

१९९० को भूकम्पपछि कलेरा अस्पतालको रूपमा यो अस्पताल स्थापना गरिएको थियो । यस अस्पतालले वीर अस्पतालको सरुवा रोग शाखाको रूपमा समेत काम गरेको थियो । कलेरा अस्पतालको रूपमा खोलिएको यस अस्पताललाई २०५३ सालदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण गरिएको थियो । देशको दोस्रो पुरानो अस्पतालको रूपमा चिनिएको यस अस्पतालले पुराना भौतिक संरचना भत्काएर नयाँ भवन निर्माण गर्न लागेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ६ वटा भवनबाटै स्वास्थ्य सेवा दिँदै आएको छ । ४० वर्षदेखि पुरानो भवन त्यसमा पनि भूकम्पले क्षति पुर्‍याएका भवनबाट नै ओपिडी, आइसियु, इमरजेन्सी, प्रशासनलगायत सञ्चालन हुँदै आएको छ । नयाँ भवन ६ तल्लाको रहनेछ । जसमध्ये ग्राउन्ड फ्लोरमा ओपिडी, इमरजेन्सी, रेडियोलोजी विभाग रहनेछ । यस्तै, पहिलो तल्लामा ओपिडी, फिभर वार्ड र प्रयोगशाला राखिनेछ ।

दोस्रो तल्लामा जनरल वार्ड, इमरजेन्सी आइसोलेसन, तेस्रो तल्लामा हेमाटोलोजी, पोषण, प्रत्यारोपण वार्ड, चौथो तल्लामा रेबिज, टिबी, छालारोग विभाग, पाँचौँ तल्लामा आइसियु, शल्यक्रिया कक्ष, सेमिनार कक्ष राखिने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको टेकु क्षेत्रमा ७२ रोपनी छ । नयाँ भवन निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रदानमा चुनौती भने रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रावलले नयाँ भवन बनाउने क्रममा सेवा प्रदानमा चुनौती महसुस गरेको बताइन् । सेवा प्रवाहका लागि मन्त्रालय समन्वय गर्न तयार रहेको बताइएको छ ।