काठमाडौँ । प्रहरीले १०१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शङ्कास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।