जनकपुरधाम । नागरिकले माग गरेको सूचना उपलब्ध नगराउने सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई जरिवाना गरिएको छ । राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।
त्यसयता सूचना उपलब्ध गराउन पटक-पटक राष्ट्रिय सूचना आयोगबाट भएको आदेशलाई बेवास्ता गरेको भन्दै प्रशासकीय अधिकृत यादवलाई कारबाही गरिएको आयोगका प्रवक्ता रत्नप्रसाद मैनालीले जानकारी दिए ।