काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार होर्डिङ बोर्ड हटाएको छ । तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।
गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।
सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको भए पनि तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ ।
महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फिटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो । १५ वर्ग फिटदेखि ३० वर्गफिटसम्मका परिचय पाटीको प्रति वर्गफिट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ ।