गृहमन्त्रीको राजीनामा माग्दै आन्दोलन

43

काठमाडौँ । प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ ।

जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो । उनीहरू सितामढी जिल्लामै पर्ने आफन्तको घर जानेक्रममा अपहरणमा परेका थिए ।

अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् । उनीहरू जनकपुरको सडकमा बसेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । आन्दोलनकारीले रोहित र विष्णुलाई न्याय दे, प्रहरी प्रशासन मुर्दावाद, गृहमन्त्री राजीनामा देऊलगायतका नारा लगाएका छन् । धनुषाका एसपी विश्वराज खड्कालाई पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

पुस २९ गते अपहरणकारीले उनीहरूको आवाज फोनमा सुनाउँदै परिवारसँग ५० लाख रूपैयँ फिरौती मागेका थिए । फिरौती मागेलगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धारमा चासो नदेखाउँदा अपहरणकारीले दुई जनाको हत्या गरेको पीडित परिवारको आरोप छ । धनुषाका एसपी खड्काले समयमा जानकारी नगराएको र फिरौती मागेको रेकर्ड दिन पनि ढिला गरेको कुरा मिडियामा भनेपछि पीडित परिवार आक्रोशित बनेका छन् ।