सार्वजनिक जग्गा फिर्ता गर्न अदालतको आदेश

47

बुटवल । रुपन्देहीमा सबैभन्दा पहिला स्थापना भएको पाँचतारे होटेल टाइगर प्यालेस रिपोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिपोर्टले भैला भुजको सार्वजनिक जग्गा मिचेको जिल्ला अदालत रुपन्देही ठहर गरेको हो ।

सार्वजनिक जग्गा मिचेको आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेको थियो । मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले यही माघ ६ गते सार्वजनिक जग्गा मिचेको फैसला गरेको हो । फैसलामा सार्वजनिक जग्गा फिर्ता गर्न आदेश दिइएको छ ।

तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेसले भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजना नहरको १० कट्ठा १८ धुर, राजकुलो तथा अन्य सार्वजनिक कुलोको गरी करिब २३ कठ्ठा सार्वजनिक जग्गा मिचेको थियो । सार्वजनिक जग्गा मिचेर बनाइएको जग्गा खाली गर्न उपभोक्ता समितिका अध्यक्ष थानेश्वर घिमिरे र टेकराज पौडेलले मुद्दा दायर गरेका थिए । घिमिरेले २०७६ असार १९ र पौडेलले गत जेठ ६ मा मुद्दा दर्ता गरेका थिए ।