चितवन । शुक्रबार दिउँसो नारायणी नदीको भंगालोमा गैंडा मरेको खबर सुन्नेबित्तिकै कावासोतीका विष्णु अधिकारी दौडिदै पुगे ।
घटनास्थलमा उनले ह्दयविदारक दृश्य देखे । गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको चार बर्षको केटो गैंडा पनि मारिएको थियो ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुर र सेरी गाउँको नजिकै नारायणीको सानो भंगालोको छिपछिपे पानीमा गैंडा मारिएका थिए । घटनाको प्रकृति हेर्दा गैंडा ठाउँको ठाउँ मारेर खाग काटिएको देखिन्थ्यो ।
अधिकारी भन्छन्, ‘मैंले संरक्षणमा लागेको २५ बर्षको अवधिमा यसरी गैंडा मारेको देखेको थिइनँ, करेन्ट लगाए पनि केही पर गएर गैंडा छटपटाएर, खोस्रिएर, घस्रिएर मरेको देखेको थिएँ तर यहाँ त गैंडाले खोस्रिएको वा गाह्रो भएर छटपटाएको कुनै संकेत थिएन, धेरै बेर हेर्न पनि सकिनँ ।’