चोभारमा कार खसेको तीन दिनपछि शव भेटियो

91

ललितपुर । बागमती नदीमा कार खस्दा बेपत्ता भएका पुरूषको शव तीन फेला परेको छ। चोभारको पुलबाट बिहीबार दिउँसो कार दुर्घटनास्थल भन्दा अन्दाजी सय मिटर तल पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए। कारमा दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल बस्ने ४७ वर्षीय राजकुमार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार थिए।

अहिले शवलाई पानीबाट निकालेर मुचुल्काको काम गरिरहेको छ। सोमबार साँझ बागमती किनारमा बा ५ च ५६५४ नम्बरको कार खसेको थियो। सामाजिक सञ्जालमा उक्त गाडी दुर्घटना भएको सिसिटिभी फुटेज पनि बाहिरिएको थियो। उक्त कार खोकना फास्ट ट्र्याक तर्फबाट मुख्य सडकमा निस्किने क्रममा पुलमाथिबाट बागमती नदी किनारमा खसेको देखिन्‍छ।

बेपत्ता भएका राजकुमारको खोजी गर्न प्रहरीको विपद् व्यवस्थापन, सशस्त्र प्रहरी र प्रहरी प्रभाग भैसेपाटीको टोली खटिएको थियो। प्रहरीले र्‍याफ्टिङ, गोताखोरले समेत खोजी गरी शव फेला पारेको हो। दुर्घटना भएपछि स्थानीयले देखेर कारमा रहेकी अम्बिकाको उद्धार गरी बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो। उनलाई अहिले थप उपचारको लागि ट्रमा सेन्टरमा पठाएको छ।
राजकुमार भने बेपत्ता थिए।