जनमतले पाएन रोजेको मन्त्रालय

96

काठमाडौं । मन्त्रालय भागवण्डा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो ।

खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले बताए ।

‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’, खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।’ प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।