२ जना फरेन्सिक विज्ञ पोखरा जाँदै

29

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा पठाइने भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ ।

दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा जाँदै छन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने भएको छ । पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाउन लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।