अध्यक्षले लिएको तलब फिर्ता गर्न माग, सहकारी विभागमा उजुरी

50

रुपन्देही । सहकारी सञ्चालक समितिको मनोमानी विरुद्ध सहकारीका सदस्यले सहकारी विभागमा उजुरी गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २स्थित तिलोत्तमा बहुमुखी सहकारी संस्थामा सहकारी ऐन विपरीत भएको १० औँ अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको हो ।

सहकारीकै पूर्व सञ्चालक एवं शेयर सदस्य ईश्वर पाण्डेले सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५,प्रदेश सहकारी ऐन २०७५ र नियमावली २०७६ प्रतिकूल हुने गरी निर्वाचनमा सहभागी हुन पाउने अधिकार वञ्चित गरिएको भन्दै उक्त निर्वाचन बदर गरी पुनः अधिवेशन गराउन लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालय सहकारी विभागमा उजुरी दिएका हुन् ।

सहकारी ऐनअनुसार निर्वाचन प्रक्रियामा चित्त नबुझे ३५ दिनभित्र उजुरी गर्न सकिने कानुनी व्यवस्था छ । सहकारीको अधिवेशनबाट माधवलाल देवकोटा अध्यक्ष निर्वाचित भएका थिए । देवकोटा अहिले तेस्रो पटक अध्यक्ष भएका हुन् ।

उजुरीमा सहकारीका अध्यक्ष देवकोटाले कर्मचारीले जस्तै मासिकरुपमा २५ हजार रुपैयाँका दरले पारिश्रमिक लिँदै आएको भन्दै यो काम सहकारी ऐन विपरीत रहेको भन्दै हालसम्म बुझेको पारिश्रमिक र त्यसको ब्याजसमेत जोडेर सहकारी संस्थाको खातामा फिर्ता गर्न माग गरिएको छ ।