काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । संविधानमा २५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्ड छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।