काठमाडौं । नेपालमा अहिले एउटै मात्र सार्वजनिक रेलमार्ग सञ्चालनमा छ– जनकपुर–जयनगर । यो रलमार्गमा चल्ने रेल पनि एउटै छ । वीरगञ्जको सुख्खा बन्दरगाहसम्म भारतबाट ‘बल्क कार्गो बोकेर रेल त आउँछ, तर त्यो भारतीय ‘क्यारियर’ रेल हो ।
नेपालमा रेल र रेलमार्गको मामिला हेर्ने सरकारी अड्डाहरु भने थोरै छैन । अहिले त कतिपय स्थानीय तह पनि रेलमार्ग बनाउन अग्रसर छन् । ललितपुर र काठमाडौं महानगरपालिकादेखि तिलोत्तमा नगरपालिकासम्म ट्राम र मेट्रो रेल चलाउने गृहकार्य गरिरहेका छन् । अन्य नगरहरु पनि यस्तो परियोजनाप्रति आकर्षित छन् ।
नेपालमा रेल सञ्चालनलाई राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएकाले रेलमार्ग निर्माणको क्षमता र आवश्यकता नहेरी संस्थागत संरचना बनाउने, ठेक्कापट्टा लगाउने काम भइरहेका छन् ।
रेल सञ्चालनका लागि आवश्यक विशिष्ट जनशक्ति तयार पार्ने, प्रविधि भित्र्याउने जस्ता काममा सरकारले सिन्को भाँचेको छैन । बुलेट रेल नै चलाउने संरचना बनाउन अग्रसर सरकार प्राविधिक अध्ययन गर्ने, गुरु योजना बनाउनेजस्ता अत्यावश्यक काम गर्नुभन्दा रेलसम्बन्धी अड्डा थप्ने काममा अग्रसर देखिएको छ ।