पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै ४ लाख वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको हो ।
अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक रु दुई हजार पाँच सयका दरले एक वर्षको रकम दिइएको थियो । योसँगै प्रतिविद्यार्थी रु ३० हजारका दरले कुल रु तीन लाख ९० हजार निकासा दिइएको उनले बताए ।
यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो ।