हुनेखाने सहरमा गरिबहरू ओडारमा

35

बीबीसी । जाडो मौसम सुरु भएसँगै न्यानोको लागि मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२, मुगुगाउँका काशी कामी ६ जनाको परिवारसहित डेढ महिनादेखि पुलुको एउटा ओडारमा बसिरहेका छन्। गाउँदेखि दुई दिन टाढा रहेको ओडारमा विभिन्न दुस्खकष्ट झेल्दै उनले पाँच महिना बिताउने छन्।

हिउँ, पानी र चिसो सिरेटोलाई छेक्ने ओडारलाई बाहिरबाट ढुङ्गाका पर्खाल लगाएर बारेका छन्। “एउटा सानो र साँघुरो कोठा जत्रै ओडारभित्र ६ जना अटेसमटेस गरी बसेका छौँ,” काशीले भने। “कहिलेकाहीँ आफन्त र पाहुना आए भने सुताउने ठाउँ छैन। अर्काको छाप्रोमा लगेर सुताउनु पर्छ।”
दुई बर्षअघिसम्म उनी चिसो यामभरि सिरानचौरमा पाल हालेर बस्थे। तर पुलुको एउटा सहकारीमा कार्यालय सहयोगीको काम पाइएपछि भने उनी गत दुई वर्षदेखि जाडोको पाँच महिना यही ओडारमा बसेर कटाउँछन्।

उच्च हिमाली क्षेत्रका मानिसहरू जाडो छल्न आफ्नो स्थायी वासस्थान छाडेर पाँच महिनाजति अस्थायी ठाउँका ओडारमा बस्छन् भने पहाडी क्षेत्रका कतिपय मान्छेहरू बस्ने घर नहुँदा ओडारमा बसेको पाइन्छ। दिनभरि घाम तापेर र साँझ दाउरा बालेर शरीरलाई न्यानो बनाउने गरेका छन्।ओडारमा न त पानी, न बत्ति न त शौचालयको नै सुविधा छ। छोराछोरीले पनि पढ्न नपाएको काशीकी श्रीमती सोनाम छेजुङ्ग गुनासो गर्छिन्। “हुनेखानेहरू जाडो छल्न काठमाण्डू, जुम्ला, नेपालगञ्ज र गमगढी गए। हामी गरिब भने धेरै दुस्ख र पीडा सहेर ओडारमा बसेका छौँ,” उनी भन्छिन्।

“सरकारले अस्थायी घर बनाइ दिएको भए जाडो याम कटाउन ओडारमा बस्नु पर्दैनथ्यो होला।”
घरदेखि दुई दिन टाढा पर्ने ओडारमा काशीको परिवार बसेको ठाउँको आसपासका अरू ओडार र छाप्रामा दुई–तीन गाउँका बासिन्दाहरू पनि छन्।
कष्टपूर्ण जीवन बिताउन बाध्यओडारहरू पनि बाजेबराजुको पालादेखि नै भोग चलन गरिँदै आएका हुन्छन्।मुगूम कार्मारोङका कर्मा तामाङ पनि परिवारसहित डेढ महिनादेखि घरबाट धेरै टाढा सिरानचौरमा पाल हालेर बसेका छन्।
बाजेको पालामा जाडो छल्न भारततिर जाने गरेपनि आफू भने दुई दशकदेखि सिरानचौरमै पाल हालेर जाडो कटाउने गरेको उनले बताए। “पाल, ओडार र छाप्रामा बस्दा हामीले समस्यामाथि समस्या भोग्दै आएका छौँ,” उनले भने। “घर नफर्कँदासम्मका पाँच महिनाको कष्ट बयान नै गर्न सकिँदैन।” उनीहरूलाई विशेषगरी खानेपानी, बिजुली, शौचालय, खाद्यान्न, खानबस्न र सुत्नदेखि बालबालिकालाई पढाउन लेखाउनसम्म निकै नै समस्या हुने गरेको छ।साथै खाना पकाउने दाउरा पनि पाइँदैनन्। पशुचौपायाको लागि घाँसको पनि उत्तिकै समस्या हुन्छ।

न्यानोको लागि घर छाडेर अस्थायी ठाउँमा बस्दा खासगरी सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धाले निकै सास्ती खेप्ने गरेका छन्। यी दुइ घर मात्र होइन अत्यधिक जाडोले गर्दा मुगु गाउँका बासिन्दाहरू पूरै गाउँ नै खाली गरेर अहिले सिरानचौर, पुलुलगायतका विभिन्न ठाउँमा कोही पाल हालेर, कोही छाप्रा बनाएर र कोही ओडारमा बसिरहेका छन्।