एउटै गाउँमा फल्यो ‘तीन करोडको सुन्तला’

59

बागलुङ । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ ।

यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिनुभयो । उहाँले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताउनुभयो ।

गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्याङ्क छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको बताउनुभयो । उहाँले बिक्री लक्ष्यअनुसार रु तीन करोडको सुन्तला उत्पादन भएको बताउनुभयो । पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पु¥याउने गरेका छन् ।

नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक रु ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन् । यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको यहाँका किसानले जनाएका छन् ।