ब्राजिली लेजेन्ड पेलेको निधन

54

काठमाडौँ । विश्व तथा ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

अस्पतालले पनि पेलेको निधन भएको पुष्टी गरेको छ । अस्पतालले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ । पछिल्लो समय उनमा पेटको क्यान्सरका कारण उपचार प्रभावकारी हुन नसकेको जनाएको छ ।

फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।

१७ बर्षको कलिलो उमेरमै सन् १९५८ को विश्वकपमा कुल ६ गोल गरेर ब्राजिललाई पहिलो पटक विश्वकपको उपाधि दिलाउने प्रमुख खेलाडी हुन् पेले । पेलेको उदय भएको सन् १९५८ को छैटौँ विश्वकपमा अहिलेको सर्वाधिक सफल राष्ट्र मानिएको ब्राजिलले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो । ब्राजिलका लेजेन्डरी फुटबलर पेलेले आफ्नो समयमा गरेको प्रदर्शन कालजयी बनेको छ ।

फुटबलमा कालो हिराको उपनामबाट परिचित पेले वास्तवमा फुटबल खेल्न तथा विश्वकप जित्नका लागि नै जन्मेका ब्यक्ति थिए । उनी फुटबलमा “बाई साइकल किक“ मार्फत गोल गर्ने विज्ञका रूपमा परिचित छन् । उनी गोलको अवसर सिर्जना गर्न पोख्त हुनुका साथै डेड बलका बिशेषज्ञ रूपमा समेत चिनिन्थे । सन् १९५८ को विश्वकपमा १७ वर्षे पेलेले प्रतियोगितामा १० नम्बरको जर्सी लगाएर खेल्दै मैदानमा तहल्का मच्चाएका थिए भने विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी समेत बनेका थिए ।