दोहा । रोजगारीका लागि गएका १३ नेपाली युवा मलेसियामा अलपत्र परेका छन्। ग्लोबल रिक्रुटमेन्ट प्रालि म्यानपावरका मेनेजर हरि घिमिरेमार्फत मलेसिया पुगेका सुनसरीका ९ र रुकुम पश्चिमका ४ जनासहित १३ जना अलपत्र परेका हुन्।
आफूहरू अहिले मलेसियाको निलाई ७ मा अलपत्र परेको पीडितहरूले बताएका छन्। १८ कात्तिकमा मलेसिया आएको अलपत्र मध्येका एक रुकुम चौरजहारी नगरपालिका वार्ड नं ११ का टेकबहादुर केसीले जानकारी दिए।
ग्लोबल रिक्रुटमेन्ट प्रालिलाई प्रति व्यक्ती २लाख ६० हजारदेखि २ लाख ८० हजारसम्म बुझाएका उनीहरूले ‘सम्झौता अनुसारको काम र तलब नपाएपछि विगत दुई महिनादेखि बन्द कोठामा कैदीबन्दी सरह बस्न बाध्य भएको’ बताएका छन्।
एजेन्ट तथा मेनपावरले नेपालबाट पटाउँदा ‘गल्फ क्याट कम्पनी हो। विश्वको महँगो खेल खेलाउने कम्पनी हो। काम हल्का हुन्छ। कसैलाई बल टिप्ने काम हुन्छ। कसैलाई सरसफाइ गर्ने हुन्छ भनेको थियो, तर यहाँ आइपुगेपछि भनेअनुसारको काम पाइएन।’ अर्का एक जनाले थपे, ‘हामीलाई मासिक तलब दुई हजार ६२ रिंगेट हुन्छ भनेर पठाएको थियो, अर्कै काम भनेर ल्याएको थियो अहिले यहाँ आएपछि जङ्गलमा घाँस कट्ने काममा लगाएको थियो,’टेक बहादुरले खबरहबसँग भने, हामी यस्तो काम गर्दैनौ भन्दा यो अवस्था सिर्जना भएको हो हामीले १३ दिन काम गरेको पैसा पनि पाएनौ।’
अहिले म्यानपावरले अर्कै काम खोजिदिने आश्वासन दिएको छ। ७ जनालाई एक ठाउँमा बाँकीलाई अर्को ठाउँमा लैजाने तयारी भइरहेको उनीहरूले सुनाए। हामीलाई काम खोजिदिनुस् कि नेपाल फर्काइदिनुहोस् भन्दा ससुराली आएको हो र? भनेर बारम्बार म्यानपावरले धम्क्याउने गरेको उनले गुनासो गरे।














