प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री, आज शपथ लिँदै

48

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री भएका छन् । शनिबार कांग्रेससहितको सत्ता गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेपछि प्रधानमन्त्री बनेका हुन् । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्रीमा नियुक्त गरे ।

उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साहलगायत सात पार्टी एवं स्वतन्त्रका दुईसहित १ सय ६९ सांसदले समर्थन दिएका छन् । नेपाली कांग्रेस सहितको पाँचदलीय गठबन्धनको सरकार बनाउने छलफल चलिरहँदा एकाएक गठबन्धन टुटेपछि एमाले माओवादीसहितको गठबन्धनको सरकार बन्न लागेको हो ।

पूर्व सहमतिअनुसार कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नदिने भएपछि प्रचण्ड एमालेसँग मिल्न पुगेका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए । उनले भने – ‘कांग्रेसले इमान्दारिता तोड्यो, त्यसैको परिणाम हामी कम्युनिस्ट पार्टीहरूसँगै मिल्न बाध्य भयौं । अब कम्युनिस्ट वामपन्थी सरकार बन्छ, हामी त्यसैमा लाग्छौं । ’