ट्राम रेलको परियोजना सुरु

86

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन बढावा दिने उद्देश्यका साथ रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रेलको शिलान्यास गरेका हुन् ।

तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रुपमा अगाडि सारेको उनले बताए । यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उनले व्यक्त गरे । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उनले बताए । धेरै परियोजनाहरू नगरमा सञ्चालन भइरहेको उनले बताए ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडीबीलगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताए । एक वर्षभित्र चार किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको उनले जानकारी दिए ।