सांसदहरूको शपथपछि मात्रै नयाँ सरकारको तयारी हुने

32

काठमाडौं (बीबीसी) । नवनिर्वाचित सांसदहरूलाई शपथ गराएपछि मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने तयारी राष्ट्रपतिको कार्यालय र संसद् सचिवालय गरेका छन्। निर्वाचित सांसदहरूले पद तथा ओहोदाको शपथ नलिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीका लागि बहुमत दाबी गर्न आह्वान गरेपछि संविधान र कानुनका जानकारहरूले शपथग्रहणअघि प्रधानमन्त्री नियुक्ति गर्न नमिल्ने तर्क गरेका थिए।

संविधान र कानुनमा शपथअघि प्रधानमन्त्री नियुक्त गर्न मिल्ने ना नमिल्ने स्पष्ट व्यवस्था नभए पनि शपथ नलिएसम्म निर्वाचित व्यक्तिले प्रतिनिधिसभा सदस्यको हैसियत नपाउने विज्ञहरूको दाबी छ। राष्ट्रपति भण्डारीले पुस १० गतेभित्र प्रतिनिधिसभामा बहुमत सदस्य भएका दलहरूको समर्थनसहित नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आइतवार आह्वान गरेकी छन्।

शपथग्रहणअघि नियुक्त गर्न मिल्छ ?
शपथग्रहण नभएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने नयाँ संविधान निर्माणमा पनि सहभागी भएका अधिवक्ता रामनारायण बिडारीको तर्क छ। “शपथ ग्रहण नगरेसम्म सांसदहरूले तलब भत्ता पनि खान पाउँदैनन् र प्रतिनिधिसभा सदस्यको हैसियतले कुनै काम गर्न पाउँदैनन्,” बिडारीले भने।

बिडारी यसअघि राष्ट्रिय सभामा सदस्य थिए। नेकपा एमाले र माओवादीको एकतापछि गठित नेकपाको सरकार हुँदा केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले उनलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।आफूले अघिल्लो पटक पनि शपथग्रहण नगरेको व्यक्तिलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्दा प्रश्न गरेको दाबी गर्दै बिडारी भन्छन्, “गलत अभ्यासलाई निरन्तरता दिनु राम्रो होइन।”