दुई बालिका बलात्कारको आरोप, दुई युवक पक्राउ

20

विराटनगर । मोरङको सुन्दरहरैचामा स्कुलबाट घर फर्कदै गरेका दुई बालिका बलात्कारको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कार गरेको आरोप रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । बालिका १४ वर्षका छन् ।

पुस १ गते शुक्रबार घरबाट स्कुल हिँडेका बालिका भोलिपल्ट मात्रै घर फर्किएका थिए । आफन्तले सोधीखोजी गर्दा बलात्कृत भएको खुलाएका थिए । बालिकालाई सुन्दरहरैँचा–७ बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ ।

बालिकाका अभिभावकले आइतबार साँझ दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तिम्सिना र तामाङलाई पक्राउ गरेको हो । प्रहरीले घटनाको मतियारका रूपमा सुन्दरहरैँचा–५ का २० वर्षीय बेञ्जु चौधरी र सुन्दरहरैँचा–६ का २० वर्षीय पदम कार्कीलाई पनि नियन्त्रणमा लिएको छ । उनीमाथि होटल मिलाइदिने काम गरेको आरोप छ ।