सरकार गठनकाे आह्वान गर्ने राष्ट्रपतिकाे तयारी

56

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई सरकार गठन गर्न आह्वान गर्ने तयारी थालेकी छन्।

निर्वाचन मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनकाे सम्पूर्ण निर्वाचन प्रतिवेदन बिहीबार नै राष्ट्रपतिसमक्ष बुझाइसकेकाे छ। यससँगै अब सरकार गठनकाे बाटाे पनि खुलेकाे छ। संवैधानिक प्रावधानअनुसार अन्तिम निर्वाचन परिणाम प्राप्त भइसकेपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्छ।

निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत आएकाे छैन जसकारण राष्ट्रपति भण्डारीले राजनीतिक दलहरूलाई धारा ७६ (२) अनुसार रकार गठन गर्न आह्वान गर्न लागेकी हुन्। संविधानको धारा ७६ को उपधारा ‘२’ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने सांसदलाई प्रधानमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ।

यसअनुसार प्रधानमन्त्रीका दावेदारले १३८ भन्दा धेरै सांसदहरू पुग्ने गरी दलहरूको समर्थन पेस गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले अन्तिम परिणाम प्राप्त भएको ३० दिनभित्र संसद् बैठक आह्वान गर्नुपर्ने प्रावधान रहेकाे छ। राष्ट्रपतिले निर्वाचन परिणाम पाएर राजपत्रमा प्रकाशित भएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।