Friday, October 30, 2026
Home समाज कालीकोटमा भेटिन थाले चितुवा

कालीकोटमा भेटिन थाले चितुवा

67

काठमाडौँ । कालीकोटमा लोप हुँदै गएका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् ।

चोरी सिकारी, बासस्थानको अभावका कारण नहुँदा लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन थालेका हुन् ।

जङ्गली क्षेत्रमा चिसो बढ्दै गएका कारणले उनीहरु अहिले बस्ती आपसासमा देखिन थालेको जानकारहरु बताउँछन् । गत शुक्रबार बेलुका ६ः१५ बजे कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–२ को कोट खर्कमा चितुवा भेटिएको थियो ।

मोटरसाइकलमा सवार रहेका बेलामा कर्णाली करिडोर हुँदै सान्नी त्रिवेणी गाउँपालिका–९ डाँफे माध्यमिक विद्यालयका प्रधानध्यापक हीरामणी सिम्खडाले चितुवा देखिएको बताए ।

“कर्णाली करिडोर हुँदै यात्रा गर्दा मैले चितुवा देखेको हुँ”, उनले भने, “दुर्लभ हुँदै गएको चितुवा कर्णाली करिडोर क्षेत्रमा भेटिएको हो ।”

चितुवा भेटिएको ठाउँ अलि फरक खालको भएकाले आफू अचम्मित भएको प्रधानाध्यापक सिम्खडाको भनाइ छ । “बस्ती भएको ठाउँ र निकै व्यस्त रहने सडक नजिक चितुवा भेटिएको छ”, उनले भने, “यस क्षेत्रमा लामो समयपछि चितुवा देखिएको हो ।”

विगतमा चितुवाले भेडाबाख्रा, गाईभैँसीलाई गोठमा नै आएर आफ्नो आहारा बनाउने गरेकोमा करिब १५/२० वर्ष यता चितुवाले यस क्षेत्रमा दुःख दिएको थिएन । तर अहिले गाउँमा दुई वटा बाख्रा र एउटा गाई मारेको नरहरिनाथ गाउँपालिका–९ लालुका ६२ वर्षीया पदमबहादुर शाहीले बताए ।