काठमाडौँ । बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको आठ दिन पूरा भएको छ । मङ्सिर १८ गते मेलम्ची खोलाको पूरै अर्थात् १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको छ दिनपछि अर्थात् मङ्सिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको आठ दिनमा पनि पूरै पानी राजधानीवासीलाई वितरण हुन सकेको छैन ।
छ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्ची खोलाबाट २६ दशमलव पाँच किमी सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।
केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।