काठमाडौं । नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो ।
गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम राख्नेक्रममा ६३ जनाको फोटो राखिएको छैन भने बाँकीको तस्बिर राखिएको छ ।
महाअधिवेशन भएको एक वर्ष पूरा भइसक्दा पनि कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो राख्न नसकेर रुखको तस्बिर राखेको छ । साथै नामको तल सामाजिक सञ्जालको लिंकका लागि लोगो राखिएको छ । तर, लोगो राखिएकोमा क्लिक गर्दा फेसबुक र ट्वीटरमा खुल्दैन ।
१४७ जनाको नाम राखिएको केन्द्रीय कार्यसमिति सदस्यको तालिकामा ६३ जना सदस्यको फोटो छैन ।














