कोरोनाविरुद्ध ५० लाख मात्रा खोप मौज्दात

61

काठमाडाैँ । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात छ। कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ ।

उनले अहिले सङ्क्रमण घटिरहेकाले माग नहुँदा खोपको मौज्दात रहेको जानकारी दिए।

सबैभन्दा बढी भेरोसेल खोप मौज्दात छ। भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका) लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ। सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ ।

प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेश प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा सात हजार छ सय ९६, लुम्बिनी प्रदेशमा एक लाख ११ हजार छ, कर्णाली प्रदेशमा ५० हजार पाँच सय ४६ र सुदूरपश्चिम प्रदेशमा आठ हजार सात सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख डा चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिए।