काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिए।
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधिसभातर्फ पुरुष १८४ जना अर्थात ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । त्यस्तै प्रदेशसभातर्फ पुरुष ३५० जना अर्थात ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ मतदान भएको थियो जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिएका छन् ।
त्यस्तै प्रतिनिधिसभा सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० मतदान भएको थियो जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थपलियाले बताए ।