काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले शुल्क तिरेर भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः सुरुवात गर्दैछ । आज डिसेम्बर १२ मा ट्वीटरले ब्लू टिक सब्सक्रिप्सन पुनः सुरु गर्न लागेको हो ।
यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् र त्यस्ता भेरिफाइड अकाउन्टहरुमा ट्वीट एडिट गर्नेदेखि अन्य विभिन्न सुविधाहरु प्राप्त हुने बताइएको छ ।
ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ । एप्पल आइओएस डिभाइसमा ट्वीटरको ब्लू सब्सक्रिप्सन लिनका लागि केही महंगो पर्नेछ । अर्थात् अब आइफोन प्रयोगकर्ताले ट्वीटरमा ब्लू टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।
ट्वीटरले यसपटक प्रयोगकर्ताका अकाउन्टको समीक्षा सुक्ष्म ढंगले गर्नेछ । केवल भेरिफाइड फोन नम्बरवालाका लागि मात्र अब ट्वीटरमा ब्लू टिक प्राप्त गर्नेछन् । यसका लागि ट्वीटरका कर्मचारी स्वयंले अकाउन्टहरुको समीक्षा गर्नेछन् ।