बाँके । समयमा गाउँसभाले बजेट नल्याएपछि स्थानीयले पाउनुपर्ने सेवा ठप्प भएको छ भने कर्मचारीहरुले तलब भत्तासमेत पाउन सकेका छैनन् । बाँके डुडुवा गाउँपालिकाको गाउँसभा अझै बस्न नसक्दा सम्पूर्ण सेवा प्रभावित भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कर्मचारीले खान पाएका छैनन् भने अन्य सबै विषयगत सेवाहरुसमेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन भने प्रयोगशाला, स्वास्थ्य सेवा, पशु, कृषि लगायतका सेवा प्रभावित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
कर्मचारीले तलब नपाउँदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन नसक्दा समस्या भएको बेतहनी स्वास्थ्य चौकीका प्रमुख हेमन्त शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक विवादको मारमा हामी परेका छौँ, हाम्रो काम भनेको सेवा दिने हो, अहिले घरखर्च धान्न समस्या छ, तर जनप्रतिनिधीहरुले यो समस्या बुझ्नु भएको छैन ।”
समयमा गाउँसभा नहुँदा सङ्घीय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपूरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि ‘फ्रिज’ हुने सम्भावनासमेत बढेको छ । विकास निमार्णसँगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको बोलपत्र प्रक्रिया अवरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । पालिकाले सञ्चालन गरेको राष्ट्रियस्तरको कार्यक्रमअन्तर्गत घरघरमा पशु सेवा बन्द भएपछि निःशुल्क उपचार सेवा नपाएर चालु आर्थिक वर्षको हालसम्म करिब पाँचसय बढी चौपाया मरेको गाउँपालिका पशु शाखाका कर्मचारी रक्षाराम यादवले बताउनुभयो । उहाँका अनुसार पशु सेवाअन्तर्गत घरघरमा प्रदान गरिने सेवाका लागि औषधि, ल्याब केमिकल नभएपछि सेवा दिन सकिएको छैन ।
यसैगरी कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ आव २०७९÷८० को गाउँसभा नबस्दा बजेट पारित नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोशित बनेका छन् । गाउँपालिका स्वास्थ्य शाखाअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीले तत्काल तलब भत्ताको माग गर्दै गत आइतबार गाउँपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।
स्वास्थ्य कर्मचारीका तर्फबाट स्वास्थ्य शाखाप्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सदस्य–सचिव कृष्णप्रसाद पौडेललाई यही मङ्सिर २२ गतेदेखि चरणबद्ध दबाबका कार्यक्रमसँगै ज्ञापनपत्र बुझाउनुभयो । केही दिनअघि शिक्षकहरुले पनि ध्यानाकर्षण गराएको थियो । नेपाल शिक्षक महासङ्घ बाँकेले शिक्षक तथा विद्यालय कर्मचारीहरुको तलब भत्ता तथा छात्रवृत्ति, दिवा खाजाजस्ता नियमित बजेट विद्यालयमा श्रावणदेखि नै निकासा नहुँदा शिक्षक तथा विद्यालय कर्मचारीले तलब नपाएको र विद्यालयका दैनिक कामकाजहरुमा कठिनाइ भएकाले सोको पहलका लागि आग्रह गरेको छ ।