काठमाडौँ । सुपर मादी हाइड्रोपावरले आज मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आज मंसिर २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो।
यसमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरूको लागि ७ लाख ३५ हजार कित्तामा आवेदन दिन सक्नेछन्।
साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने २१ लाख कित्ताको १०% अर्थात २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि बिक्री खुला गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले पुस ५ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद पुस २० गते सम्म लम्बिने कम्पनीले जनाएको छ। त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा पुस ५ गतेसम्म आवेदन दिन सक्नेछन्।