धनगढी । दार्चुलामा भारतीय पक्षले महाकाली नदीको धार नेपालतर्फ फर्काएर तटबन्धन गर्न खोजेपछि विवाद भएको छ । जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध गर्न खोज्दा विवाद भएको स्थानीय प्रशासनले जनाएको छ ।
पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारी विपरीत भारतीय पक्षले काम गरेपछि आइतबार खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो । सो क्रममा ढुङ्गामुढा हानाहान समेत भएको थियो भने केहीबेर नाका समेत बन्द गरिएको थियो ।
सोही विषयलाई लिएर सोमबार बिहान पनि भारतीय पक्षले महाकाली पुलमाथि आवतजावतमा रोक लगाएको थियो तर अहिले दुवै पक्षबीच छलफल गर्ने समझदारीपछि आवागमन खुलेको छ ।
दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले भारतीय पक्षले पुलको उत्तरतर्फको भागमा तटबन्धन निर्माण गर्दा पानीको धार नेपालतर्फ फर्काउन खोज्दा विवाद भएको बताइन् ।