बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमतः इन्द्र बानियाँ मुख्यमन्त्री हुने सम्भावना

109

काठमाडौं । सत्ता गठबन्धनलाई बागमती प्रदेशमा सभामा सरकार गठनका लागि आरामदायी बहुमत पुग्ने देखिएको छ । बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले गरेका थिए। त्यसबेला कांग्रेस र समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्ने भद्र सहमति भएको भए पनि कांग्रेसका इन्द्र बानियाँले अवसर पाएनन्।

पाण्डे प्रतिनिधि सभातर्फ निर्वाचित हुँदा बानियाँ मकवानपुर २ को प्रदेशसभा २ बाट निर्वाचित भएका छन्। अघिल्लो पटकका दाबेदार बानियाँले यसपटक नेतृत्व गर्ने सम्भावना बलियो छ। बागमतीमा १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ। प्रदेश सभामा ६६ जना सांसद प्रत्यक्षबाट र ४४ जना समानुपातिक प्रणालीबाट चयन हुन्छन्। सत्ता गठबन्धनले प्रत्यक्षतर्फ नै ४३ सिट जितेको छ भने समानुपातिकतर्फ पनि गठबन्धनकै अग्रता छ।

बागमती प्रदेशमा एमालेले प्रत्यक्षतर्फ १२ सिट जितेको छ। समानुपातिकतर्फ एमालेले हालसम्म ५ लाख २ हजार ९ स २३ मत ल्याएको छ। सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले त्यहाँ प्रत्यक्षतर्फ २४ सिट जित्दा समानुपातिकतर्फ ४ लाख २७ हजार २ सय ३९ मत ल्याएको छ।

यस्तै माओवादी केन्द्रले प्रत्यक्षतर्फ १२ सिट जित्दा समानुपातिकमा २ लाख ३६ हजार ५ सय ५९ मत ल्याएको छ।
सत्ता गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा ५ सिट जितेको छ भने समानुपातिकमा ५२ हजार ३ सय ५७ मत ल्याएको छ। बागमती प्रदेश सभामा दोलखाका २ क्षेत्रको मतगणना बाँकी नै छ।